Section 71
चोरी निकासी वा पैठारी पक्राउ गर्ने वा सुराक दिने व्यक्तिलाई पुरस्कार दिने
(१) कसैले कुनै मालवस्तु चोरी निकासी वा पैठारी गर्न लागेको वा गरेको कुराको सुराक दिने वा त्यस्तो मालवस्तु पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गर्ने कर्मचारी वा व्यक्तिलाई त्यस्तो कार्य प्रमाणित हुन आएमा तोकिए बमोजिम पुरस्कार दिइनेछ ।

(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि चोरी निकासी वा पैठारीको सूचना दिने सुराकीलाई सूचनाको सत्यताको आधारमा विभागद्वारा तोकिएको कार्यविधि बमोजिम महानिर्देशकले तत्काल दश हजार रुपैयाँसम्म सुराकी खर्च दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको पुरस्कार सम्बन्धित भन्सार कार्यालयले त्यस्तो चोरी निकासी वा पैठारी भएको मालवस्तु लिलाम बिक्री गरी प्राप्त हुन आएको रकमबाट दिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए “तापनि नेपाल सरकारले त्यस्तो मालवस्तु कुनै सरकारी निकायलाई प्रयोग गर्न दिने निर्णय गरेमा सो निकायले तोकिएको समितिबाट सो मालवस्तुको मूल्य निर्धारण गराई सो मूल्यको आधारमा उपदफा (१) बमोजिमको पुरस्कारको रकम सम्बन्धित भन्सार कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ र भन्सार कार्यालयले सो रकम सुराकी र पक्राउ गर्ने सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनेछ ।

(४) भन्सार कार्यालयले उपदफा (१) बमोजिम चोरी निकासी वा पैठारीको सुराक दिने सुराकीको नाम, थर र विवरण गोप्य राख्नु पर्नेछ ।

(५) प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिमको सुराकीको नाम, थर र विवरण कानून बमोजिम अनुसन्धान: गर्ने निकायले अनुसन्धानको सिलसिलामा वा अदालतबाट माग भएकोमा बाहेक कुनै व्यक्ति वा निकायलाई उपलब्ध गराउन भन्सार अधिकृत बाध्य हुने छैन र सुराकी दिएको कारणले मात्र निजलाई कुनै अदालत, निकाय वा कार्यालयमा उपस्थित हुन बाध्य गरिने छैन ।

(६) सुराकी प्रतिवेदन लिने तथा पुरस्कार वितरण गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।